काठमाडौं : सत्ता गठबन्धनमा आवद्ध दलहरु बिच चुनावी तालमेल गर्ने विषयमा चर्को मतभिन्नता देखिएको छ। प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचन तथा राष्ट्रियसभाको रिक्त पदका लागि हुने चुनावमा सत्ता घटक दलले गठबन्धनका लागि गृहकार्य गरिरहेको भए पनि एकमत हुन नसकेको हो।
गठबन्धनका नेताहरुले सार्वजनिक रुपमा चुनावी तालमेल गरेर नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने दाबी गरिरहेका छन्। तर, चुनावी मोर्चा कस्तो हुनेरु कुन मापदण्डका आधारमा तालमेल गर्ने भन्ने विषयबारे भने गठबन्धनमा आवद्ध पाँच दल बिच एक मत छैन।
फागुन २० गतेसम्म राष्ट्रियसभाको १९ पद रिक्त हुँदैछ। सरकारले माघ पहिलो साता राष्ट्रिय सभाको निर्वाचन गर्ने तयारी गरिरहेको छ। निर्वाचन आयोगले सरकारलाई फागुन २० गते राष्ट्रियसभाका १९ जनाको पद रिक्त हुने भएकाले माघ पहिलो साता निर्वाचन गर्न आग्रह गरेको थियो।
राष्ट्रियसभा निर्वाचन ऐनअनुसार पद रिक्त हुनुभन्दा ३५ दिन अघि चुनाव गर्नुपर्ने छ। प्रतिनिधिसभामा माओवादी केन्द्रले सांसदबाट हटाएका ४ जनाको पद खाली छ। यस्तै, विभिन्न प्रदेशमा गरी कूल १८ पद खाली हुने भएकाले त्यसका लागि निर्वाचन गर्नुपर्ने छ।








