आईसीसी टी–२० विश्व कपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । फाइनल खेल आज बेलुका पौने आठ बजे दुबईको अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । दुवै टोली पहिलो पटक टी–२० विश्व कपको उपाधि जित्ने होडमा छन् । न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्न लागेको हो ।
सन् २०१० मा भएको विश्व कपमा अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अस्ट्रेलिया सुपर १२ मा समूह एकबाट दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग मात्रै पराजित भएको थियो भने बाँकी चार खेल जितेको थियो । सेमिफाइनलमा अस्ट्रेलियाले समूह दुईको विजेता पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।
सेमिफाइनलमा न्युजिल्यान्डले समूह एकको विजेता इङ्ग्ल्यान्डलाई पराजित गरी फाइनलमा पुगेको हो ।








