काठमाडौँ : मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेपछि भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ पुगेको छ । मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार शिक्षिका २, कर्मचारी १, शिक्षक १ र ७ विद्यार्थी घाइते भएका छन् ।
नाउरीकोटस्थित रमला तुलाचनको घरको छानो उडाएको पनि प्रहरी प्रमुख दानीले बताए । पहिरोका कारण बोक्से खोलाको पानी धमिलो भएको छ । बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको बताइएको छ । हिमपहिरो गएको क्षेत्रमा भने स्थानीय भीमप्रसाद थकाली र सकेन्द्र गौचनका गरी १ सय ३० वटा चौरी थिए । ती चौरीबारे यकिन जानकारी भने नआएको स्थानीयहरूले बताएका छन् ।
थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले स्थानीय किसानहरू हिमपहिरोबाट प्रभावित हुनसक्ने बताएकी छन् । पहिरोबाट चौरी गोठ तथा गोठालाहरूलाई क्षति भएको आकलन गरिएको उनले बताइन् ।
अहिले प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनाबारे बुझ्न त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घन्टा लाग्ने थासाङ गाउँपालिकाकी उपाध्यक्ष शेरचनले बताइन् ।
घटना आइतबार बिहान साढे १० देखि ११ बजेतिर भएको थियो ।