गृहपृष्ठ Featured प्रदेश अधिवेशनका लागि कांग्रेसले अधिवेशन स्थल तोक्यो : लुम्बिनी प्रदेशको बुटवल

प्रदेश अधिवेशनका लागि कांग्रेसले अधिवेशन स्थल तोक्यो : लुम्बिनी प्रदेशको बुटवल

काठमाडौँ : संघीय संविधान जारी भएको ६ वर्षसम्म पनि प्रदेश तहमा पार्टीको संरचना बनाउन नसकेको कांग्रेसले महाधिवेशनको मुखमा प्रदेश संयोजक तोकेको छ । अहिले तोकिएका प्रदेश संयोजकहरुको मुख्य जिम्मेवारी नै सम्बन्धित प्रदेशको अधिवेशन सम्पन्न गराउने हो ।

आइतबार बसेको बैठकले सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्नका लागि संयोजक र अधिवेशन हुने स्थानको टुंगो लगाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले हरेक प्रदेशबाट नेतृत्व गर्ने वरिष्ठ केन्द्रीय सदस्यहरुलाई प्रदेश महाधिवेशन सम्पन्न गर्नका लागि संयोजकको जिम्मेवारी दिएको छ ।

प्रदेश अधिवेशनको अध्यक्षता समेत ती नै संयोजकहरुले गर्नेछन् । बैठकले प्रदेश १ को अधिवेशन तयारी समितिको संयोजकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई तोकेको छ । त्यस्तै, प्रदेश–२ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदुरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई प्रदेश अधिवेशन सम्पन्न गर्न संयोजकको जिम्मेवारी दिएको छ ।

सबै प्रदेशमा गठित अधिवेशन तयारी समितिमा त्यो प्रदेशका केन्द्रीय सदस्यहरु, संसदीय दलका नेता, सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख, नगरपालिकाका प्रमुखरउपप्रमुख र गाउँपालिकाका प्रमुखरउपप्रमुखहरुलाई प्रदेश अधिवेशन आयोजक समितिको सदस्यको जिम्मेवारी दिएको छ ।

बैठकले प्रदेश अधिवेशन हुने स्थान समेत तोकेको छ । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा गर्ने गरी स्थान तोकेको हो ।

सम्बन्धित् समाचार