पाल्पा : प्रायजसो मन्दिरमा भगवानसँग मनमनै वर तथा आशिरवाद माग्ने गरिन्छ।तर पाल्पाको एक मन्दिरमा भने भक्तजनले चिच्याएरै वर माग्ने मेला सुरु भएको छ। तिनाउँ गाउँपालिका ४ सत्यवती बज्यै देवीसँग परम्परादेखि नै भक्तजनले चिच्याएर वर माग्दै आएका छन्। सत्यवती बज्यै देवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिरका पुजारी सुनवीर गाँहाले जानकारी दिए।
आजदेखि ३ दिनसम्म सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने ३ दिने मेला सुरु भएको छ । यस वर्ष सत्यवती बजैको दर्शन तथा पूजाआजा गर्न विशेष साइत जुरेकाले गत वर्षभन्दा धेरै भक्तजन सहभागी हुने मन्दिर व्यवस्थापन समितिको अपेक्ष छ।
यस वर्ष कार्तिक महिनामा बाला चर्तुरदशी र पूर्णिमा पर्ने सत्यवती बज्यैको दर्शन गर्ने उत्तम समय रहेको बुढापाका तथा मन्दिरका पुजारीले जनाएका छन्।साइत जुरेको समयमा सत्यवती बज्यैको दर्शन गरेमा मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ ।
विगतका वर्षमा कार्तिक चर्तुरदशीका दिन भक्तजन सत्यवती बज्यैको मन्दिरमा वास बस्ने, पूजा पाठ गर्ने, बिहान देवीसँग चिच्याएर वर मागी झिसमिसेमै बाटो लाग्ने चलन आजकल परिमार्जित भएको छ । केही वर्षदेखि कार्तिक शुक्लपक्षको त्रियादशीको दिनदेखि पूर्णिमासम्म रात दिन सत्यवती बज्यैको पूजा पाठ गरी चिच्याएर वर माग्ने परम्परा सुरु भएको छ ।
यस वर्ष साइत जुरेकाले मेलामा ३ लाख भक्तजनले सत्यवती बजैको दर्शन गर्ने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।
मेलाकै कारण सत्यवती कोल्डाडा क्षेत्रका बासिन्दाको वर्ष दिनको आम्दानी जुट्ने गरेको छ । सत्यवती मन्दिर र ताललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी स्थानीय श्रोत साधनको परिचालन गरी आर्थिक तथा सामाजिक एव सांस्कृतिक पक्षलाई माथि उठाउने गरी गाउँपालिकाले काम गर्ने अध्यक्ष घर्ती मगरले बताए ।
तानसेन र बुटवल क्षेत्रबाट आउने भक्तजन पैदल २ घण्टाको उकालो हिँडेपछि मन्दिरमा पुग्ने गर्दछन्। प्रत्येक वर्ष मन्दिर बाट संकलन हुँदै आएको रकम मन्दिर र ताल संरक्षणमा र केही रकम गाउँपालिकालाई सहयोग गर्दै आएको वडाध्यक्ष दानबहादुर गाहाले बताए ।








