गृहपृष्ठ Featured कपिलवस्तुमा रामघाट मेला भर्नेको घुइँचो

कपिलवस्तुमा रामघाट मेला भर्नेको घुइँचो

कपिलवस्तु : ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन कपिलवस्तु नगरपालिकास्थित बाणगंगा नदीको रामघाटमा लाग्ने नाहन मेला भर्न शुक्रबार बिहानैदेखि हजारौं भक्तजन आएका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पर–परबाट तिर्थालु आएका थिए ।

शुक्रबार लाग्ने मेलाका लागि बिहीबार साँझैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने क्रम सुरु भएको थियो । राति ३ बजेबाटै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेको लाइन थियो । मन्दिर वरिपरि र नदी किनारमा रातभर साधुसन्त जाग्राम बसेर ढोल, खैजडी, झाँज र हारमोनियम बजाई भजन, किर्तन र चुड्का भन्दै बसेका थिए ।

त्रेता युगमा भगवान राम वनवास जाने क्रममा रामघाट आईपुग्दा उनलाई पानी प्यास लागेपछि अर्जुनले बाँण हानेर पानी निकालेको धार्मिक किंम्वदन्ती रहेको अवधी लोककला विशेषज्ञ विक्रममणि त्रिपाठीले बताए । भगवान रामले पानी पिएको हुँदा यस ठाउँको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको बुढापाकाहरु बताउँछन् ।

रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन् । गौदान गरे मनोकाक्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न पनि आउने गरेको पुरेतहरु बताउँछन् । त्यसैगरी जिल्लाकै लक्ष्मणघाट, बर्गदीघाट र सत्यघाटमा शुक्रबारै मेला लागेको छ ।

सम्बन्धित् समाचार