सुर्खेत : नेपाली कांग्रेसको चुनाव गराउन सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बावियाचौरस्थित विद्या ज्योति माध्यमिक विद्यालय बन्द गरिएको छ ।
विद्यालयले सूचना प्रकाशन गरी मंगलबार विदा दिएको छ । र विद्यालय प्रांगणमा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको छ ।
विद्यालय आफैंले नभई पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाको निर्देशनमा बन्द गरिएको प्रचार्य कृष्ण सापकोटाले बताए । ‘स्थानीय सरकार प्रमुखको निर्देशन आएपछि बाध्य भएर एकदिनका लागि विद्यालय बन्द गरिएको हो,’ सापकोटाले भने ।
प्रचार्य सापकोटाले अघि भने, ‘हामीले आजको विदालाई स्थानीय विदा भनेका छौं । स्कुलले पनि स्थानीय विदा दिन पाउने अधिकार छ । अब मेयरसाबले नै निर्देशन दिएपछि हाम्रो के लाग्छ र ?’
उक्त विद्यालयमा करिब १३ सय विद्यार्थी अध्ययन गर्छन् । विद्यालय नै बन्द गराएर एउटा अमुक पार्टीको चुनाव गराउनु गलत भएको विद्यार्थी नेता जगत ढकाल बताउँछन् ।








