गृहपृष्ठ Featured कपिलवस्तुमा जनगणना अन्तिम चरणमा : तपाईं छुट्नु त भएन ?

कपिलवस्तुमा जनगणना अन्तिम चरणमा : तपाईं छुट्नु त भएन ?

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुमा राष्ट्रिय जनगणना २०७८ को काम अन्तिम चरणमा अर्थात
आज(बुधवार) सम्म ९५ प्रतिशत सकिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सञ्चालन भईरहेको १२ औं जनगणनाको काम आज(बुधवार) सम्म ९५ प्रतिशत सकिएको हो ।

जिल्लामा स्थापित ५ ओटा स्थानीय जनगणना कार्यलयले मंसिर १०, ११ र १२ गते गणकहरुबाट फारम बुझ्ने र त्यस पश्चात जिल्ला जनगणना कार्यालय कपिलवस्तुमा पठाउने कार्य हुने जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले बताउनुभयो । जिल्ला जनगणना कार्यालयमार्फत मंसिर १५ गते पछाडि मात्र जनगणनाका सम्पूर्ण विवरण मन्त्रालयमा पठाईने उहाँले बताउनुभएको छ ।

जनगणनाका क्रममा केही उत्तरदाताहरुले विगतमा पनि यस्ता तथ्याङ्क संकलन गरेको र आफुले कही नपाउने गुनासो गरेका छन् । तर गणकहरुले यो त्यस्तो नभएको राज्यबाट १०/१० बर्षको अन्तरालमा संचालन गरिने जसले भावि योजना निर्माण गर्न तथा देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने भन्दै बुझाएपछि उत्तरदाताहरुले सजिलै उत्तर दिने गरेको पाईएको प्रमुख कुर्मीले बताउनुभयो ।

केही व्यक्तिहरुले कार्यालयमा फोन गरेर नै आफ्नो तथ्याङ्क संकलन गर्न छुटेको पनि जानकारी गराएका छन् । जानकारी पश्चात सो ठाउँमा परिचालित गणकलाई खबर गरि तथ्याङ्क संकलन गर्ने कार्य भईरहेको प्रमुख कुर्मीले बताउनुभयो । उहाँले अझै पनि कोही नागरिक जनगणनामा सहभागि हुन छुटेको भए नजिकका सम्बन्धित व्यक्तिलाई खबर गरि सहभागि हुन आग्रह गर्नुभएको छ ।

नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिई सहयोग गरिदिन प्रमुख कुर्मीले आग्रह गर्नुभएको छ । यस्तै गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भन्दै व्यक्तिगत विवरण सुरक्षित रहने भएकाले कुनै संकोच नमानि वास्तवित विवरण उपलब्ध गराउन आह्वान गर्नुभयो ।

अहिले कार्यालयमार्फत जनगणनालाई प्रभावकारी बनाउन निरन्तर अनुगमन गर्ने, फारम तथा जनगणनाका लागी आवश्यक अन्य सामग्री अपुग भएकालाई पुर्याउने काम भईरहेको उहाँले बताउनुभयो । कपिलवस्तुका १० पालिकामा ५ सय ८२ जना गणक र १३९ जना सुपरीवेक्षकहरु खटिएका छन् ।

सम्बन्धित् समाचार