गृहपृष्ठ Featured भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट बराबरीमा सकियो

भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट बराबरीमा सकियो

प्रकाशित मिति:

काठमाण्डौ : भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । दुई सय ८४ रनको लक्ष्य पाएको न्युजिल्यान्डले नौ विकेट गुमाएर एक सय ६५ रन बनाउँदा पाँचौँ दिनको खेल सकिएपछि पहिलो टेस्ट बराबरीमा सकिएको हो । खेल सकिन नौ ओभर बाँकी रहँदा न्युजिल्यान्डले नौ विकेट गुमाइसकेको थियो । तर निकै सङ्घर्ष गरे पनि भारतीय बलरले बाँकी एक विकेट लिन नसक्दा खेल बराबरीमा सकियो ।

हारतर्फ गएको न्युजिल्यान्डलाई बराबरीमा फर्काउन पहिलो टेस्ट खेलिरहेका रचिन रविन्द्रले ९१ बलमा १८ रन बनाए । रविन्द्र र एजाज पटेलले ५२ बल खेल्दै नटआउट १० रन जोडे । दोस्रो पारीमा भारतका लागि रवीन्द्र जडेजाले चार, रविचन्द्र अश्विनले तीन, अक्षर पटेल र उमेश यादवले एक–एक विकेट लिए । भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट डिसेम्बर ३ देखि मुम्बईमा हुनेछ । यो खेलमा भारतीय टिमको कप्तानी विराट कोहलीले गर्नेछन् ।

भारतका नियमित कप्तान विराट कोहली, ओपनर रोहित शर्मा र तीव्र गतिका बलर जसप्रीत बुमराहसहित अरू ठूला खेलाडी यो खेलको हिस्सा थिएनन् । कप्तानी अजिन्क्या रहाणेले गरिरहेका थिए र उनले टस जितेर ब्याटिङ रोजेको थियो । भारतले पहिलो पारीमा तीन सय ४५ रन बनाएको थियो ।

न्युजिल्यान्डले पहिलो पारीमा दुई सय ९६ रन बनाएको थियो । भारतले पहिलो पारीको आधारमा ४९ रनको अग्रता लिएका थियो । दोस्रो पारीमा भारतले सात विकेट गुमाएर दुई सय ३४ रन बनाउँदै पारी सकिएको घोषणा गरेको थियो । भारतको अग्रता दुई सय ८३ रन हुँदा न्युजिल्यान्डले जितका लागि दुई सय ८४ रनको लक्ष्य पाएको थियो ।

सम्बन्धित् समाचार