२४ वर्षिया डा. अलविरा खान कार्ड बाडिरहेकी थिइन् । मंसिर महिनामा बाँडिएको कार्ड कुनै विवाह तथा पार्टीको भने थिएन । एमबीबीएस उत्तीर्ण खानले भैरहवामा जारी नेपाली कांग्रेसको प्रथम लुम्बिनी अधिवेशनमा सदस्यका लागि भोट माग्नका लागि कार्ड बाडेकी हुन् । भैरहवास्थित महेन्द्र सभा गृहमा जम्मा भएका प्रतिनिधिसमक्ष उनले भनिन् ‘नमस्कार म अलविरा खान मुस्लिम महिलातर्फको उम्मेदवार हुँ, भोट दिनुहोला है ।’
यो दृश्य भैरहवामा चलिरहेको कांग्रेस अधिवेशनको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भैरहवाको महेन्द्र सभा गृहमा चलिरहेको छ ।
शुक्रबार उम्मेदवारहरुले मनोयन दर्ता गरेका थिए । कपिलवस्तुकी अलिविराले पनि मुस्लिम महिलातर्फ प्रदेश सदस्यमा मनोनयन दर्ता गरिन् । त्यसपछि उनी भोट माग्दै प्रचारप्रसारमा व्यस्त छिन् । उनले आफ्नो फोटा र परिचयसहितको कार्ड बनाएकी छन् । उनी अधिवेशनमा प्रदेशकी कान्छी उम्मेदवार हुन । १३ औं महाअधिवेशनपछि आफू नेपाली कांग्रेसमा क्रियाशिल भएको बताइन् । त्यति बेला उनी १८ वर्षकी थिइन् । बाबा अकित मियाको प्रेरणाबाट उनी राजनीतिमा लागेको बताइन् । उनी विगतलाई सम्झदै भनिन्– ‘बाबा ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल हुनुहुन्छ । उहाँले देशमा भएका आन्दोलनमा सहभागिता जनाउनुभएको छ, ’उनले भनिन् ।
मिया पूर्व क्षेत्रीय सभापति हुन् । उनी अहिले महाधिवेशन प्रतिनिधि हुन् । म बुवाको प्ररणाबाट नै कांग्रेसमा लागेकी हुँ, अहिले प्रदेश सदस्यमा उम्मेदवारी दिएकी छु अलबिरा भन्छिन– म बिरामीको सेवा गर्नेछु, मेरो पेशा डाक्टर नै रहने छ, साथमा म राजनीति पनि गर्नेछु ।
मुस्लिम, मधेशी समुदाय, पिछडिएको समुदायको आवाज बन्दै उनीहरुको जीवनस्तर उकास्न पहल गर्नेछु, उनले भनिन्, ‘मेरो परिवारले राजनीतिक गर्नको लागि सर्पोट गर्नुभएको छ, बुबा, मेरो भाइ र बहिनी पनि अहिले साथमा छौं, प्रचारप्रसारमा लागेका छौं । मुस्लिम समुदायमा महिलाहरु खुलेर बोल्न राजनीतिकमा आउँन किन सकेनन् भन्ने प्रश्नमा अलविरा भन्छिन्–पहिलेको जस्तो अहिले अवस्था छैन, महिलाहरु खुलेर बोल्न थालेका छन, राजनीतिमा पनि लागेका छन । महिलामा परिवर्तन भएको छ, अवसर पाए राजनीतिमा लाग्न तयार छन् ।
अलविरा संस्थापक इतर (कांग्रेस वरिष्ठ नेता रामचन्द्र पक्ष) का सभापति पदका उम्मेदवार अमरसिंह पुन मगरको प्यानलबाट तर्फबाट उम्मेदवार बनेकी छन् । कपिलवस्तुको क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएर उनी प्रदेश सदस्यको उम्मेदवार भएकी हुन ।