गुल्मी : गुल्मी अस्पतालको अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै खिया लाग्न थालेको छ । तम्घासस्थित गुल्मी अस्पतालमा जडानका लागि ल्याइएको अक्सिजन प्लान्टका विभिन्न सामग्रीहरुमा खिया लाग्न थालेका हुन् ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी अस्पतालमै अक्सिजन उत्पादन गर्ने उदेश्यका साथ प्लान्ट निर्माणको कार्य अघि बढाइएको थियो । वर्षातको पानीले भिज्न पुग्दा अक्सिजन प्लान्ट जडानका लागि ल्याइएको सामग्रीमा खिया लागेको छ ।
अक्सिजन प्लान्ट राख्ने भवन गत भदौमा सम्पन्न हुनपर्नेमा अझैसम्म सम्पन्न हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए । गुल्मी उद्योग वाणिज्य संघले आफ्नै लगानीमा अक्सिजन प्लान्ट राख्ने भवन बनाउने जिम्मा लिएको थियो । तर समयमै काम नसक्दा प्लान्टका मेसिनहरुमा खिया लाग्न थालेको पाण्डेले बताए । अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामग्रीहरु आएको उनले बताए । खिया लागेका कारण मेसिनले काम नगर्ने हो कि भन्ने चिन्ता बढाएको अध्यक्ष पाण्डेको भनाइ छ ।
गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले भने भवन निर्माणको काम महासंघले छिटो सक्ने बताए । उनले अब बाँकीरहेको काम अस्पताल विकास समितिले गर्नुपर्नेमा जोड दिए ।
करिब डेढ करोडको लागतमा अस्पतालमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो ।