काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई अरूको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गरेका छन्। आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गरे।
उनले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरु नेतृत्वजस्तै रहेछ भन्ने मौका नदिने बताए। नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन र मुर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताए।
‘मैले गाउँ घरतिर भोट माग्दा भन्थेँ, थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ भन्ने मौका दिने छैन। आज राप्रपाका तमाम देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूलाई, नेता, कार्यकर्ता साथीहरूलाई पनि चन्न चाहन्छु, यो पनि उस्तै रहेछ भन्ने मौका म दिन्नँ’, उनले भने।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीलाई विगतको जस्तो गतिहीन र निष्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभई पार्टीका मुद्दालाई जोड दिने बताए।