चितवन : वनमन्त्री रामसहायप्रसाद यादवले राष्ट्रिय बाघ सर्वेक्षण (गणना) कार्यको उद्घाटन गरेका छन् । आइतबार चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा आयोजना भएको विशेष कार्यक्रममा सर्वेक्षणमा प्रयोग हुने क्यामेराको स्वीच अन गरेर मन्त्री यादवले गणना सुरु भएको घोषणा गरे ।
नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँचवटा राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा बाघको बसोबास छ । बाघ ओहरदोहर गर्ने क्षेत्रमा दुईतर्फ क्यामेरा रखिन्छ । क्यामेरा नाघेर बाघ वा अन्य जीव जनावर गए क्यामेरामा स्वचालित रूपमा तस्बिर कैद हुन्छ । क्यामेराले खिचेका तस्बिरहरू विश्लेषण गरेर बाघको संख्या एकिन हुन्छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसअघि सन् २०१८ मा भएको गणनामा देशभर २३५ भेटिएका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले गणनामा एक हजार क्यामेरा र दुई सय ५० जना खट्ने जानकारी दिए । गणनामा ३ करोड ७० लाख रूपैयाँ खर्च हुनेछ ।
आउँदो अन्तर्राष्ट्रिय बाघ दिवस सन् २०२२ को जुलाई २९ मा नतिजा घोषणा गर्ने तयारी छ ।