काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको टुंगो लगाउन आफू पक्षीय नेताहरुसँग छलफल जारी राखेका छन्। बैठक देउवा निवास बुढानिलकण्ठमा जारी छ। छलफलमा देउवा पक्षीय नेताहरुको सहभागी छ। सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधि भने बुढानिलकण्ठ गएका छैनन।
देउवा समूहमा अहिलेसम्म सभापतिमा कसैले आकांक्षा नदेखाए पनि पदाधिकारीमा भने आकांक्षीको व्यवस्थापन गर्न सकक भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
महामन्त्रीमा भने देउवा समूहमा आकांक्षी धेरै छन्। गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखक आकांक्षी छन्। संस्थापन र संस्थापन इतरपक्षले अझैं उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। दुवै पक्ष उम्मेदबारको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेपनि साझा उम्मेदवार बनाउन सकेका छैनन्।
यसैबीच बिहीबार पौडेल समूहका नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन्। पौडेल पक्षबाट सभापतिमा पौडेल, शशांक कोइराला,शेखर कोइराला, प्रकाशमान सिंहले आकांक्षा देखाएका छन्। शशांकले भ भने मंगलबारको छलफलपछि पौडेललाई सघाउने भन्दै पछि हटेका छन्।
आजको बैठकले सभापतिको उम्मेदवारको टुंगो लगाउने जनाएको छ । बैठकमा पौडेल पक्षका केन्द्रीय सदस्य, नवनिर्वाचित जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र प्रदेश सभापति बोलाइएको छ।
सो पक्षका नेताहरूबीच दर्जन बढी बैठक भइसकेका छन्। तर पनि आकांक्षीहरु बढि देखिएकाले उम्मेदवारको टुंगो लगाउन हम्मेहम्मे भएको हो। प्रदेश अधिवेशनको परिणामले पनि इतरपक्षमा साझा उम्मेदवार तय गर्न समस्या भएको छ। ६ प्रदेशमा भएको चुनावमा इतरपक्षले लुम्बिनी र गण्डकी प्रदेशमा मात्र जितेको छ।








