बझाङ : बझाङमा खोलामा खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ बाँसकाटियाका ५२ वर्षका मिनबहादुर रोकायाको धौलिगाड खोलाको साँघु तर्ने क्रममा चिप्लिएर खस्दा मृत्यु भएको हो।
पसलबगरबाट मंगलबार राति करिब ९ बजे घर जाने क्रममा साँघुबाट चिप्लिएर खोलामा खसेपछि टाउको र शरीरका अन्य भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए।
रोकाया मंगलबार राति खोलामा खसेको घरपरिवारलाई कुनै जानकारी नभएको उनका भतिजा दिनेश रोकायाले बताए।
रोकाया मंगलबारदेखि घरमा नआएपछि बिहीबार खोजी गर्दा खोलामा मृत फेला परेका र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको सूचना अधिकारी चौधरीले बताए।