कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित वडा नम्बर २ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
वडा भित्रका झण्डै ३ सय भन्दा बढी जेष्ठ नागरिकहरुलाई शुक्रबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमबाट ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । चिसो बढ्न लागेको र जाडो मौसममा सबै भन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित हुने भएकाले ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरिएको पौडेलले बताउनुभयो ।
वडाले गत वर्ष पनि जेष्ठ नगरिक लक्षित कार्यक्रमहरु संचालन गरेको थियो । जेष्ठ नागरिकलाई घरपरिवारको माया, साथ सहयोगको आवश्यक पर्ने भन्दै उनिहरुलाई माया र स्नेह दिन पनि वडा अध्यक्ष पौडेलले आग्रह गर्नुभएको छ ।
कार्यक्रमपछि जेष्ठ नागरिकले वडाअध्यक्ष चिन्दीन तर भनेको र अराएको काम पौडेलले गर्दा खुशी लाग्ने गरेको बताए । बिरामी हुनासाथ “के छ आमा-बुवा भन्दै घर आउँने अनि अस्पताल लाने काम बाबुले गर्छ अरुले वडाअध्यक्ष भन्दा रैछन, त्यौ पनि थाहा थिएन’ एक ८६ बर्षीय जेष्ठ नागरिकले बताइन ।
वडा अध्यक्ष विष्णु पौडेलको अध्यक्षता रहेको कार्यक्रममा नगर कार्यपालिका सदस्य टिका कुमारी अधिकारीको स्वागत तथा सचिव नरेन्द्र पोख्रेलको संचालन रहेको थियो ।








