कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.३ को कार्यालयले एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई सम्मान तथा पौष्टिक आहार प्रदान गरेको छ । शुक्रबार वडा कार्यालय खरेन्द्रपुरमा वडाभित्रका ८५ जना जेष्ठ नागरिकहरूलाई स्विटर, टोपी र चवनपरास प्रदान गरी सम्मान गरिएको हो । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले ८० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई खादा ओढाई उक्त सामग्रीहरू प्रदान गरी सम्मान गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले बृद्धबृद्धाहरूलाई सानो बच्चाको जस्तै परिवारको माया, ममता र स्याहारसुसारको आवश्यकता रहेको बताउनुभयो । बृद्ध अवस्थामा शारीरिक, मानसिक रूपमा अशक्त र कमजोर हुँदै जाने भएकाले माया, स्नेहसहित बृद्धहरूलाई हेरचाहका लागि परिवारले पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने अधिकारीले बताउनुभयो ।
बृद्धहरूले पारिवारिक माया पाउनु नै सबै भन्दा ठुलो सम्मान भएको बताउँदै आफ्नो सन्तानको सरह नै व्यवहार गरी बृद्ध बुवा आमालाई सम्मान र सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।