गृहपृष्ठ Featured एमाले केन्द्रीय कमिटी बैठक जारी

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ। एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक दिउँसो जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बसेको हो।

बैठकमा सपथ लिन बाँकी केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन्। बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अविलम्ब सबै संगठनका अधिवेशन आयोजना गर्न निर्देशन दिएका छन्। उनले पार्टी र संगठनलाई गति दिनका लागि आ-आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्न आह्वान गरेका हुन्।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने जानकारी दिए। चितवनमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय नयाँ कमिटी गठन भएको छ। नवनिर्वाचित कमिटीको पहिलो बैठक चितवनमै बसेको थियो।

तामाङका अनुसार केन्द्रीय सदस्यहरूको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद्को गठन र कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान लगाएतका विषय बैठकका एजेण्डामा राखिएको छ।

सम्बन्धित् समाचार