कपिलवस्तु : अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कपिलवस्तु र बाणगंगा मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा अन्तरक्रिया गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको हो । बाणगंगा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न समस्या तथा सल्लाह सुझाव आएका थिए । शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयका विद्यार्थीहरुले शुल्क तिनुपर्ने, विद्यार्थीहरुको अनुपस्थिती, विद्यार्थीहरु बस्ने कार्यालयमा टिनको छानो हुँदा समस्या भएको लगायतका समस्या आएका थिए ।
त्यस्तै कोरोनाका कारण अध्यापन नहुँदा पनि शुल्क तिर्नुपरेको, सरकारले निःशुल्क शिक्षा भनेता पनि अनेक बाहानामा विद्यालयले शुल्क लिएको विद्यार्थीहरुले गुनासो गरेका थिए । विद्यार्थीहरुलाई प्रदान गरिने सेनेटरी प्याड गुणस्तरिय नभएको विद्यार्थीहरुले गुनासो गरेका थिए । त्यस्तै बैकल्पिक शिक्षा प्रभावकारी ढंगले संचालन नभएको, अभिभावक शिक्षक संघ सक्रिय नभएको, सामुदायिक विद्यालय प्रति अभिभावकहरुको दायित्व बोध नहुनु र प्राविधिक शिक्षा तथा कम्प्युटर कक्षा प्रभावकारी नहुनु लगएतका गुनासाहरु आएका थिए ।
यसैगरी बजार अनुगमन हुन नसक्नु, कृषि शाखामा प्राबिधिकको संख्यामा कमी हुनु, फर्म दर्ता गर्न लालपुर्जा भएको जग्गा हुनुपर्ने जसले साना फर्मले सेवा तथा अनुदानबाट बन्चित हुनु, कोभिड १९ कोरोना भाइरसका कारण रोजगारी गुमाएका युवा लक्षित कार्यक्रम हुनपर्ने सुझाव प्राप्त भएका थिए । कार्यक्रममा ईन्सेक प्रतिनिधि पार्वती आचार्यले कार्यक्रमको बारेमा प्रकाश पार्दै संविधानमा व्यबस्था गरिएका मौलिक हकको बारेमा स्पष्ट पार्दै शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धीका हक अधिकारबारे कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।