काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले तत्काल आफ्नो निर्णय गर्नुपर्ने बताएका छन्।
मंगलबार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोध कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि सबै राजनीतिक दलहरुलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताए।
राजनीतिक दलहरु न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उनको भनाइ छ। भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरुले पहल गर्नुपर्ने श्रेष्ठले माग गरे।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले आफू नांगिएको कुरा स्वीकार गरिसकेको दाबी गरे। प्रधानन्यायाधीश नांगिदैमा न्यायपालिका नप्रसने र न्याय प्रशासन चल्न नसक्ने उनले बताए।
न्यायपालिकालाई नांगिन नदिनका लागि प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने श्रेष्ठको अडान छ।