काठमाडौं : राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा (माओवादी केन्द्र)ले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई उद्घाटनसत्रमा आमन्त्रण गरेको छ। आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुने उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ।
एमाले अध्यक्ष ओलीले आफू सकेसम्म उद्घाटन सत्रमा सहभागी हुने नसके महासचिव शङ्कर पोखरेलले सहभागिता जनाउने जानकारी दिएका छन्। ओली हाल झापामा छन्। उद्घाटनसत्रमा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष ओलीलाई टेलिफोन गरेर आग्रह गरेका थिए। फोनमा एमाले अध्यक्ष ओलीले आफू झापामा रहेको भन्दै सकेसम्म आफू नै आउने र सम्भव नभए महासचिव पोखरेल सहभागी हुनुहुने जानकारी गराएका थिए।
उद्घाटनसत्रमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि आमन्त्रण गरिएको छ। त्यस्तै जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत पार्टीका नेतालाई अतिथिका रुपमा बोलाइएको प्रवक्ता महराले जानकारी दिए।
यसअघि राष्ट्रिय सम्मेलनमा अतिथि नबोलाउने निर्णय भएको थियो। तर शनिवार राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरिए पछि अतिथिहरु बोलाइएको हो।