रोल्पा : लुम्बिनी प्रदेश सरकारले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका, घाइते भएका तथा अंगभंग भएकाहरूको विवरण संकलन सुरु गरेको छ ।
सरकारले द्वन्द्व प्रभावित जिल्लाहरूबाट विवरण संकलन थालेको हो । रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार सरकारले सबै खालका पीडितको विवरण पठाउन प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो ।
सरकारले विवरण मागे अनुसार माओवादी सशस्त्र द्वन्द्वबाट अति प्रभावित रोल्पाबाटसमेत विवरण पठाइएको स्थानीय प्रशासनले जनाएको छ । ‘हामीसँग मागेको विवरण पठाएका छौं । हालसम्म भएका विवरण संकलन गरेर पठाएका छौं ।’ प्रजिअ सापकोटाले भने । उनले सरकारले पीडितका लागि राहत दिने उद्देश्यले विवरण संकलन गरिएको हुनसक्ने बताए ।
माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा मुलुकमै सबैभन्दा बढी द्वन्द्व पीडित छन् । सशस्त्र द्वन्द्वका बेला रोल्पामा करिब एक हजारले ज्यान गुमाएका थिए । राज्य र विद्रोही पक्षबाट जिल्लामा मात्रै ९ सय ४६ जनाको ज्यान गएकोमा राज्य पक्षबाट ७ सय ६२ को, विद्रोहीबाट १ सय ६५ को, दोहोरो भीडन्तमा ८ जना र पक्ष नखुलाइएका ११ जनाको ज्यान गएको थियो ।
प्रशासनका अनुसार हालसम्म राज्य पक्षबाट २७ र विद्रोहीबाट ६ जना गरी ३३ जना वेपत्ता भएका थिए । माओवादी सशस्त्र द्वन्द्वका क्रममा अपांग भएका ७७ जना छन् । उनीहरूलाई सरकारले जीवन निर्वाह भत्ता दिइरहेको छ । राहत लिएका अन्य अपांग ५ सय ९५ जना छन् । माओवादी सशस्त्र द्वन्द्वकै कारण मृतकका एकल महिला ३ सय २३ जना छन् भने वेपत्ताका एकल महिला ७ जना छन् ।
माओवादीले २०५२ साल फागुन १ देखि थालेको सशस्त्र द्वन्द्वका क्रममा २३ वटा प्रहरी चौकी ध्वस्त भएका थिए । सरकारले कतिपय प्रहरी चौकीको पुनःनिर्माण गरिदिएको छ ।