काठमाडौं : सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिरहँदा खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नआउँदा तत्काललाई सो कार्य स्थगित भएको छ। खोप शाखाका प्रमुख सागर दाहालले फाइजर खोपलाई आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो नभएकाले तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको जानकारी दिए।
उनले फाइजर खोपको हकमा छुट्टै सिरिन्ज चाहिने भन्दै उक्त सिरिन्ज छिट्टै आउने भनिए पनि ठ्याक्कै कहिले आउँछ भनेर जानकारी नआएको बताए।
योसँगै फाइजर खोपका लागि चाहिने घोलक पनि आउन बाँकी रहेको भन्दै घोलक पनि पर्सि आइपुग्ने दाहालले बताए। गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो।
सरकारले सोही खोप १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिने तयारी गरेको थियो। तर खोपसँगै चाहिने घोलक र सिरिन्ज बेलैमा आइनपुग्दा उक्त कार्यक्रम प्रभावित भएको हो।