काठमाडौं : कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन्। राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाहरूको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु भएको हो। राजधानीमा सोमबार आयोजित एक कार्यक्रमबीच कांग्रेस महामन्त्री गगनकुमार थापा र डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रूपमा अभियानको औपचारिक घोषणा गरे।
कार्यक्रममा महामन्त्री थापाले मृतक परिवारका अरू कयौँ समस्या भए पनि बालबालिकाका शैक्षिक निरन्तरता बढी चुनौतीपूर्ण रहेको निष्कर्षसहित आफूहरू अभियानमा जुटेको बताए।
महामारीका कारण परिवार गुमाएकाहरूको मुख्य जिम्मेवारी राज्यकै भए पनि सचेत नागरिकहरूले व्यक्तिगत वा संस्थागत रूपमा योगदान गर्न जरुरी रहेको उनले औँल्याए।