वैखरी अनलाईन : खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कपिलवस्तु शाखाको आयोजनामा खानेपानी शुद्धिकरण तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया गरिएको छ । बुद्धभूमि नगरपालिका स्थित गोरुसिंगेमा आयोजित अन्तरक्रिया कार्यक्रममा खानेपानीकोे शुद्धिकरणमा हरेकले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन् ।
लुम्बिनी प्रदेश सरकारका पर्यटन तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले खानेपानीलाई हरेक सर्वसाधारणको घरघरमा पु¥याउन प्रदेश सरकार लागिपरेकाले पालिकालाई यस तर्फ ध्यान मन्त्रालयले निर्देशन दिएको बताईन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी राज्यमन्त्री नेपालले जिल्ला स्थानीय पालिकाहरुले खानेपानीको विषयलाई खासै चासो नदिएको बताईन् । अन्तरक्रिया कार्यक्रममा जिल्ला ७ पालिकाहरुका प्रतिनिधिहरुको सहभागिता नरहेको विषयलाई ईकिंत गर्दै राज्यमन्त्री नेपाल यस्तो बताईकी हुन् । उनले दुर्गम स्थानमा खानेपानीलाई विस्तार गर्न सबैले आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताईन् । पालिकाका जनप्रतिनिधिको माग अनुसार मन्त्रालयले बजेट विनियोजन गर्दै आएको बताईन् । खानेपानीलाई शुद्धिकरण गर्नका लागि र जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने जुनसुकै संघ संस्थालाई मन्त्रालयले बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरिन् ।
राज्यमन्त्री नेपालले एक घर एक धाराको अवधारणा पुरा गर्नका लागि सबैले सहयोग गर्न आग्रह गरिन् । लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले एक घर एक धाराको संकल्प प्रदेश सरकारले सुरु गरेको बताएका छन् । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सांसद पन्थीले पालिकाहरुले खानेपानीमा विस्तारै बजेट विनियोजन गर्न लागेको बताए । उनले तराईको सीमा क्षेत्रका नागरिकको चेतनामा कमी भएकाले ओभरहेड ट्याकीं खानेपानीको पहुँच सम्म लैजानुपर्ने बताए । खानेपानी आयोजना निर्माणको काम गर्दा एकीकृत योजना बनाएर दिर्घकालीन रुपमा अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए । धेरै रकम खर्चेर निर्माण गरेका खानेपानीका आयोजना अन्य भौतिक विकास निर्माणका कामले क्षेती गर्ने हुनाले यस तर्फ प्रदेश सरकार पालिकाहरुको ध्यान पुग्नुपर्ने बताए ।
उनले कपिलवस्तुमा शुद्ध खानेपानी नभएकाले हैजा आउनु दुःखद रहेको बताउँदै खानेपानी उपभोक्ता महासंघले गरेको कार्यक्रम उल्लेखनीय रहेको बताए । सांसद पन्थीले खानेपानीबाट लाग्ने रोगबाट बच्न र खानेपानीलाई शुद्धिकरण गर्न सम्पुर्ण उपभोक्ता सचेत हुन आवश्यक रहेको बताए । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकामा शुद्ध खानेपानी उपलब्ध गराउनका लागि गाउँपालिकाले विभिन्न योजना बनाएको बताए ।
उनले विजयनगर गाउँपालिका लुम्बिनी प्रदेशकै पछाडी परेको गाउँपालिका रहेकाले खानेपानी मात्र नभई हरेक क्षेत्रमा विकासको खाका तयार पार्दै गएको बताए । कार्यक्रममा महाराजगंज नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रामनन्द प्रसाद कहार ,खानेपानी डिभिजन कार्यालयका प्रमुख कमल पन्त , खानेपानी महासंघका केन्द्रिय सदस्य कमला न्यौपाने , खानेपानी समहासंघका केन्द्रिय सदस्य राधिका पन्त , नेपाल पत्रकार महासंघका कार्य समिती सदस्य पार्वती आचार्य लगाएतले बोल्दै मानव जिवनकालागि पानी महत्वपुर्ण भएको हुँदा खानेपानी शुद्धिकरणलाई व्यबस्थापन गर्न सबैले सहयोग पुराउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्र बिक्रम शाहले खानेपानी शुद्धिकरण, ब्यबस्थापन तथा सरसफाईमा सबैले ध्यान दिनुपर्ने बताए । कार्यक्रमका अध्यक्ष शाहले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउन लागि परेको बताए ।








