गृहपृष्ठ Featured चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै, पाँच महिनामा चारको मृत्यु

चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै, पाँच महिनामा चारको मृत्यु

चितवन, पुस १४ । चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०७८र७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैंडा, हात्ती, बँदेल र गौरीगाईको आक्रमणबाट एकरएक जनाको मृत्यु भएको हो।

यस्तै, सोही समयमा हात्तीको आक्रणबाट चार, गैंडाको आक्रमणबाट १५, बाघको आक्रमणबाट तीन, भालुको आक्रमणबाट चार, जङ्गली बँदेलको आक्रमणबाट दुई र मगर गोहीको आक्रमणबाट एक जना घाइते भएका छन्।

घाइतेमध्ये १६ सामान्य तथा १३ जना गम्भीर भएको उनले जानकारी दिए। चालु आवमा मानवीय क्षति, घरगोठ क्षति र भण्डारण गरिएको अन्नको क्षतिवापत निकुञ्जले रु ८० लाख ७३ हजार क्षतिपूर्ति तिरेको छ।

निकुञ्जले वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारलाई आव २०७५र७६ देखि आव २०७८र७९ को कात्तिक मसान्तसम्म ६ करोड २५ लाख ४४ हजार रुपैयाँ राहत वितरण गरेको छ।

निकुञ्जभित्रका वन्यजन्तुले मानव, पशु तथा अन्नबाली र भौतिक संरचनामा क्षति पुर्‍याएमा पीडित परिवारलाई राहत वितरण गरिँदै आएको छ।

चालु आवको चार महिनामा मृत्यु भएका चारै जनाको परिवारलाई ४० लाख रुपैयाँ राहत रकम वितरण गरिएको छ।

त्यस्तै, वन्यजन्तुबाट सामान्य घाइते भएका पीडित परिवारलाई तीन लाख सात हजार रुपैयाँ र गम्भीर घाइते भएका पीडित परिवारलाई १३ लाख १६ हजार रुपैयाँ उपलब्ध गराएको तिवारीले जानकारी दिए।

त्यस्तै, पशुधन क्षति शीर्षकमा सात लाख ८५ हजार रुपैयाँ तथा घरगोठ शीर्षकमा ४२ हजार रुपैयाँ वितरण गरिएको छ।

वन्यजन्तुले अन्न भण्डारण र खाद्यन्न बालीमा क्षति पुर्‍याएका परिवारलाई १६ लाख २१ हजार रुपैयाँ प्रदान गरिएको छ।

निकुञ्जबाट निस्कने बाघ, चितुवा, हात्ती, गैंडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले मानवीय तथा भौतिक क्षति पुर्‍याउने गरेका छन्।

निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई १० लाख रुपैयाँ दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ।

त्यस्तै, सामान्य घाइतेको अवस्थामा २० हजार रुपैयाँ, गम्भीर घाइतेको न्यूनतम रु दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ।

जंगली जनावारले अन्नबालीमा क्षति पुर्‍याएमा बढीमा १० हजार रुपैयाँ, घरगोठ भत्काएमा १० हजार रुपैयाँ र पशुधनको क्षति गरेमा ३० हजार रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ।

सम्बन्धित् समाचार