काठमाडौं : मोहमद आफताब आलमको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा परेको छ। शुक्रबार न्यायाधीशद्वय कार्की र ढुङ्गानाको संयुक्त इजलासमा परेको हो । विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग आदि मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आलमले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।
रौतहटको राजापुरमा बम विस्फोट हुँदा घाइते भएकालाई ज्यूँदै लगेर इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलाममाथि छ। २०७० सालको निर्वाचन बेला १७ जना मजदुरलाई इँटा भट्टामा राखेर मारेको अभियोगमा उनी जेल चलान भएका हुन्।
१२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटनसम्बन्धी मुद्दामा उनलाई प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो। पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो। आलमकै निर्देशनमा बनाउन लागिएको बम विस्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकालाई इँटाभट्टामा हालेर मारेको अभियोग उनीमाथि छ।
चुनावमा बुथकब्जा गर्न ल्याइएका बम विस्फोटमा केही मारिएका थिए भने केही घाइते भएका थिए। विस्फोटबाट क्षति पुगेको गोठ तत्कालै मर्मत गरिएको थियो भने घाइतेलाई पोलिएको भनिएको इँटाभट्टा केही वर्षपछि बन्द भएको थियो। आलमलाई ३२ वर्ष कैद सजाय माग दाबीसहित कात्तिक १९ गते जिल्ला अदालत गौरमा तीनवटा मुद्दा दर्ता भएको थियो। कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदाबी गरिएको थियो।
यमुनामाई गाउँपालिका ४ का त्रिलोकप्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले आलमविरुद्ध कर्तव्य ज्यान मुद्दा दिएका थिए। यस्तै सर्लाही गडैता–२ का सफी अहमद र भारत सीतामणिका गौरीशंकर राम चमारले बम विस्फोटमा घाइते भएको भन्दै ज्यान मार्ने उद्योगमा उनीविरुद्ध जाहेरी दिएका थिए। आलमविरुद्ध प्रहरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाएको छ।








