गृहपृष्ठ Featured तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व चयन

तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व चयन

प्रकाशित मिति:

दाङ : तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको शनिबार भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ। गठबन्धनबाट नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी १ हजार ९८६ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी पवनकुमार बुढाथोकीले १ हजार ७६७ मत प्राप्त गरेका थिए। भण्डारी कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निकट मानिन्छन् भने बुढाथोकी कांग्रेसकै अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी निकट हुन्।

त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार दीपककुमार धितालले २६४ मत पाएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रको भागमा परेको उपाध्यक्ष पदमा सीताराम शर्मा आचार्य आधिकारिक उम्मेदवार थिए। उनी २ हजार २७२ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गिरिधारी पौडेलले १ हजार ४८५ मत पाए। यस्तै उपाध्यक्षका अर्का उम्मेदवार पूर्णप्रसाद धितालले ७१ मत प्राप्त गरे। पौडेल र धिताल कांग्रेस निकट हुन्।

त्यस्तै सचिवमा एमालेको भाग परेको थियो। एमालेबाट उम्मेदवार बनेका सेवकराम भण्डारी विजयी भएका छन्। उनले सबैभन्दा बढी मत प्राप्त गरे। उनले २ हजार ८३८ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी दामोदर लामिछानेले ६८४ मत मात्रै प्राप्त गरे।

त्यस्तै कोषाध्यक्षमा भोलाप्रसाद थापा विजयी भएका छन्। उनले १ हजार ७०२ मत प्राप्त गरेका थिए भने गठबन्धनका उम्मेदवार विप्लव नेकपाका भद्रबहादुर वलीले १ हजार ५१६ मत प्राप्त गरे। त्यस्तै अर्का उम्मेदवार मेघराज न्यौपानेले ३०४ मत प्राप्त गरेका थिए।

यसैगरी सदस्यहरूमा एकीकृत समाजवादीका पदमबहादुर खड्काले २ हजार ७८ मत पाए भने राप्रपाका लक्ष्मण केसीले २ हजार ५६४ मत ल्याई विजयी भएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार शोविन्द चन्दले १ हजार ३११ मत पाए।

तुलसीपुर खानेपानीका जम्मा मतदाता ७ हजार ४६७ रहेका थिए।

सम्बन्धित् समाचार