वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ मा सुत्केरी महिलाहरुलाई पौष्ट्रिक आहार प्रदान गरिएको छ । साउन १ गतेदेखि हालसम्म सुत्केरी भएका ५५ जना महिलाहरुलाई पौष्ट्रिक आहार प्रदान गरिएको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाभित्रका सुत्केरी महिलाहरुलाई पौष्ट्रिक आहार स्वरुप एउटा लोकल भाले र १ के.जी. घ्यु प्रदान गरिएको वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रवक्ता समेत रहेका वडा नं.२ का वडाध्यक्ष विष्णु पौडेलले बालबालिका परिवार, समाज र राष्ट्रको भावि आधारस्तम्भ भएकाले उनीहरुको शारिरीक, मानसिक, सामाजिक विकासको लागी पौष्ट्रिक आहार आवश्यक पर्ने भएकाले वडाले पौष्ट्रिक आहार उपलब्ध गराएको बताए ।
वडाध्यक्ष पौडेलले आगामी दिनमा पनि सुत्केरी आमा र शिशुको स्वास्थ्यलाई मध्येनजर गरि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता व्यक्त गरे ।
वडाका सम्पुर्ण वडावासीले स्वस्थ्यपूर्ण जीवन यापन गर्न पाउनुपर्ने अधिकारलाई वडाले सधै उच्च प्राथमिकता दिएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको वडा सचिव नरेन्द्र पोखरेलले बताए । महिला लक्षित कार्यक्रम गर्दै आएको वडाले विशेष गरि सुत्केरी भएका महिलाहरुको अवस्थालाई बुझेर पौष्ट्रिक आहार प्रदान गरेको भन्दै सुत्केरी महिलाहरुले खुशी व्यक्त गरेका छन् ।
‘सुख दुःखमा साथ दिने वडाध्यक्ष विष्णु पौडेल हुनुहुन्छ, वृद्धहरुलाई पनि न्यानो कपडा र हामी जस्तालाई पनि हेर्नु भएको छ ।’ सुत्केरी एक महिलाले भनिन्, ‘विष्णु पौडेल जस्तो वडाध्यक्ष पाउनु हाम्रो लागी पनि खुशीको कुरा हो ।’