वैखरी अनलाईन : प्रथम बाणगंगा सडक खाना महोत्सवका निर्देशक सुसिल सिंह ठकुरीले जिल्लाको बाणगंगा नगरपालिकामा हुने प्रथम बाणगंगा सडक खाना महोत्सव ऐतिहासिक हुने दाबी गरेका छन् । उनले महोत्सवलाई सफल बनाउन जिल्लाका सम्पूर्ण होटल व्यवसायी तथा विभिन्न जनजाती, भेषभुषाका प्रतिनिधिहरुलाई सहयोग हुन आग्रह गरेका छन् ।
उनले सडक खाना महोत्सवमा १५ वटा बढी स्टल रहने तथा विभिन्न जातजातीका खानाका परिकार राखिने बताए ।
यसैबीच कपिलवस्तुको बाणगंगा नगरपालिकामा हुने प्रथम बाणगंगा सडक खाना महोत्सवको तयारी तीब्र गतिमा अघि बढेको छ । बाणगंगा नगरपालिका वडा न. ४ ले एकै ठाँउबाट पहिचान सहितको धेरै स्वाद चखाउन दुई दिने सडक खाना महोत्सव गर्न लागेको छ । आन्तरीक तथा बाह्य पार्यटकलाई पुस २९ र ३० गते विभिन्न जातजातिका फरक फरक स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागिएको र सोही कामको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ ।
सडक खाना महोत्सवमा स्थानीय स्तरमा रहेका मगर, गुरुङ, थारु, नेवार, पहाडी स्वादिष्ट परिकारहरु रहने आयोजकले जनाएको छ । प्रथम बाणगंगा सडक खाना महोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयकी राज्यमन्त्री रिना नेपालले बाणगंगामा पहिलो पटक सडक खाना महोत्सव हुन लागेको भन्दै खुशी व्यक्त गर्दै यसलाई सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यस्ता सडक खाना महोतसवले पनि पर्यटन प्रवद्र्धनमा विशेष सहयोग पुग्ने उनले दाबी गरिन् ।
आफ्नो जिल्ला कपिलवस्तु भएकाले यहाँ संचालन हुने हरेक कार्यक्रम सफल तुल्याउन आफुले आर्थिकसहितका सहयोग सहित विशेष भूमिका निर्वाह गर्ने बताईन् । यस्तै पर्यटन डिभिजन कार्यालय प्रमुख मुक्ती पाण्डेले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने कार्यक्रमहरुलाई आफूहरुले सक्दो सहयोग गर्ने बताए । महोत्सवको सह–आयोजक पर्यटन डिभिजन कार्यालय रुपन्देही रहेको बताउँदै आगामी वर्षहरुमा हुने महोत्वहरुमा विशेष सहयोग गर्ने सकिने जिकिर गरे ।
बाणगंगा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले सडक खाना महोत्सवमा १५ वटा स्टल रहने, थारु समुदाय, मगर र नेवार सँगै बाहुन क्षेत्रीहरुका खानाका परिकार पनि राखिने बताए । स्थानीयहरुले टोलटोलबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउँदै बाणगंगा नगरवासीले प्रथम सडक खाना महोत्सवलाई सफल पार्न सहयोग गर्न क्षेत्रीले अपिल गरे । यो वर्षबाट महोत्सवलाई सुरु गरिएको र आगामी वर्षहरुमा पनि निरन्तरता दिने गरि सावधानी अपनाउँदै महोत्सव गरिने वडा अध्यक्ष क्षेत्रीको भनाई छ ।