वैखरी अनलाईन ः कपिलवस्तुको बाणगंगा नगरपालिकाले भलवाडको नमुना सामुदायिक बन नजिकै प्रस्ताव गरिएको डम्पिङ साईड बनाउँदा व्यवस्थित बनाए त्यस्तो खासै केही प्रभाव नपर्ने र फाइदानै हुने स्थानीयले बताएका छन् । डम्पिङ साईडलाई व्यवस्थित बनाउँदै प्राप्त आर्थिक रकम वडा नं.९ को विकासमा लगाउनुपर्ने वडा नं.९ का वडाध्यक्ष ध्रुब बेल्वासेले बताए ।
उनले डम्पिङ साईडको नाममा अनावश्यक राजनिति गर्न खोजिएको बताउँदै त्यसो नगर्न समेत आग्रह गरे । यस्तै स्थानीय वरिष्ठ समाजसेवी दिपक थापाले डम्पिङ साईडलाई व्यवस्थित बनाउँदै वडामा रहेका युवाहरुलाई राजगारीको सिर्जना गर्नु पर्ने बताए । उनले डम्पिङ साईडबाट हुने आम्दानीलाई वडाको समग्र विकास लगाउनुपर्ने बताए ।
यसैबीच बाणगंगा नगरपालिकाले भलवाडको नमुना सामुदायिक बन नजिकै प्रस्ताव गरेको सेनिटरी ल्याण्डफिल साइडको प्रारम्भिक वातावरणीय परीक्षणबारे सरोकारवालाबीच सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले प्रारम्भिक वातावरणीय परिक्षण अध्ययनको क्रममा ल्याण्डफिल साइटको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा स्थानीय राजनीतिक दल तथा समाजसेवीले आमसमुदायको सहभागीतामा ल्याण्डफिल साइटबारे सुनुवाई गरिनुपर्ने माग राखेका छन् । कार्यक्रममा सहभागी केही स्थानीयले आपत्ती जनाएका छन् ।