रुकुम पूर्व : लगातारको हिमपातको कारण रुकुम पूर्वमा निर्माणाधीन विभिन्न आयोजनाहरु प्रभावित भएका छन् । गएको पुस १३ गतेदेखि भएको हिमपातको कारण जिल्लाको सिस्ने गाउँपालिका-१ मा निर्माणाधीन पाखा ओराली लघुजलविद्युत् आयोजनाको काम रोकिएको छ ।
यही माघको महिनासम्म सम्पन्न गरिसक्नुपर्ने विद्युत् आयोजनाको कामलाई हिमपातले असर गरेको हो । नियमित बाक्लो हिउँ पर्न थालेपछि कार्यस्थलमा रहेका प्राविधिक कर्मचारी र कामदारहरु सबै फिर्ता भएको बताइएको छ ।
हिउँ नबिलाउँदासम्म काम सुरु गर्न सकिने अवस्था नरहेको १ नम्बर वडाका वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । गएको आर्थिक वर्षमै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना कोरोना भाइरसको कारण सामान ढुवानीमा प्रभाव परेर सम्पन्न हुन सकेको थिएन ।
निर्माण सम्पन्नको चरणमा आइपुग्दा हिमपातको कारण फेरि पछाडि धकेलिएको वडा अध्यक्ष बुढाले बताउनुभयो । श्रमदानसहित ३ करोड ७७ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको विद्युत् आयोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।
हिमपातकै कारण आयोजनाको लागि निर्माण स्थलमा पुर्याइएको १२ क्विन्टल सिमेन्ट समेत खेर जाने अवस्थामा पुगेको वडाध्यक्ष बुढाले बताउनुभयो । देउखोलाबाट दुई दिन लगाएर खच्चडमार्फत ढुवानी गरिएको सिमेन्ट बिग्रिँदा थप समस्या भएको उहाँको भनाइ छ ।








