भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
योसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ३ करोड ४९ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। सोही अवधिमा थप ३२५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ लाख ८७ हजार ६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या २ लाख ८५ हजार ४१० रहेको छ। गत २४ घण्टामा भारतमा १९ हजार २०६ जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४३ लाख ४१ हजार ९ जना कोरोना सङ्क्रमित निको भएका छन्।
भारतमा कोरोना भाइरस सङ्क्रमितको निको हुने दर ९७.८१ प्रतिशत रहेको जनाइएको छ।
भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ५३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। हालसम्म १ अर्ब ४८ करोड ६७ लाखभन्दा बढी मात्रा खोप लगाइएको जनाइएको छ ।