सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तु कृषि सहकारी संस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । बाणगंगा नगरपालिका वडा नं.१ बैरियामा अवस्थित उक्त सहकारीको मंगलबार प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.१ का अध्यक्ष बालकुमारी पन्त अधिकारीले सहकारीको मूल्य मान्यतालाई आत्मासाथ गर्दै कपिलवस्तु कृषि सहकारी संस्था अघि बढे उत्कृष्ट सहकारीको रुपमा स्थापित हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी वडा अध्यक्ष अधिकारीले छोटो समयमा यस सहकारीले स्थानीय स्तरमा राम्रो प्रगति हासिल गरेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई मजबुत बनाउन सहकारीको भूमिका महत्वपूर्ण सावित हुने दाबी गर्नुभयो । उहाँले सहकारीमा सबैलाई समेटदै अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राम बहादुर क्षेत्रीद्धारा प्रस्तावित २०७८/७९ का निति तथा कार्यक्रम पारित भएको छ । कार्यक्रममा संस्थाका सचिव नवदत्त घिमिरेले २०७८/७९ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रारम्भिक जानकारी गराउनुभएको थियो । साथै सचिव घिमिरेले शेयर सदस्यमा निहित ज्ञान सिपलाई संस्थाको हितमा अधिकत्तक प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
यस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष नारायण प्रसाद पौडेलले २०७८/७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पूँजी २०७८ असार मसान्तसम्म ३२२ जना शेयर सदस्यबाट ६६ लाख २० हजार संकलन भएको बताउनुभयो । यस्तै कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेन्द्र घिमिरेले कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक धातानन्द भुसाल, सल्लाहकार पोष्टराज गौतम लगायतले आआफ्नो धाराणा राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष ओम प्रकाश घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव नवदत्त घिमिरेको संचालनमा सम्पन्न भएको हो ।