बुटवल : डेढ हप्तायता लुम्बिनी प्रदेशका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमध्ये अधिकांश खोप लगाएका रहेको पाइएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भैरहवा स्थित भिम अस्पताल र राप्ती प्रादेशिक अस्पताल, दाङ लगाएतका अस्पतालमा भर्ना भएका कोरोना संक्रमित मध्ये अधिकांश कोरोना विरुद्धको पूर्ण खोप लगाएका पाइएका हुन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका कोरोना संक्रमित मध्ये अधिकांश कोरोना विरुद्धको पूर्ण खोप लगाएका संक्रमितहरु रहेको अस्पतालका सूचना अधिकारी डा. नेत्रप्रसाद रानाले बताए ।
साथै बुधबार भर्ना भएकी संक्रमित गभर्वती महिलाको नर्मल डेलिभरी भएको उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको सूचना अधिकारी रानाले बताए । केहि दिन यता अस्पतालमा परीक्षण गराएका मध्ये धेरैमा कोरोना संक्रमण देखिए पनि अस्पतालमा भर्ना गरि हाल्नु पर्ने केस भने निकै कम रहेको रानाले बताए ।
‘१५/२० दिन अघि अस्पतालमा दैनिक ३०/४० जनाले कोरोना परीक्षण गर्न गराउने गर्नु भएको थियो ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै रानाले भने ‘ केही दिन यता भने परीक्षण गराउनेको संख्या बढेर दैनिक १०० भन्दा मागि पुगेको छ । बिहीबार १०१ जनाको परक्षण गर्दा ३९ जना संक्रमण देखियो ।’ अस्पतालमा भर्ना भएका संक्रमित मध्ये कसैको पनि स्वास्थ्य अवस्था भने गम्भीर नरहेको सूचना अधिकारी रानाले बताए ।