काठमाडौं : सरकारले सम्झौताअनुसार निर्माण पूरा नगर्ने सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो ।
उक्त कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सातवटा निर्माण व्यवसायीरआपूर्तिकर्तालाई सार्वजनिक खरिद ऐन २०६३ सम्झौताअनुसार व्यवस्था र तोकिएको आचारण विपरित कार्य गरेको आधारमा कालोसूचीमा राखिएको हो। कालोसूचीमा परेका कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।
कालो सूचीमा राखिएका निर्माण व्यवसायीमध्ये काठमाडौंस्थित आरोग्य कन्स्ट्रक्सन प्रालिलाई ३ वर्षका लागि कारबाही गरिएको हो। यस्तै काठमाडौंको डाइग्नोकेम जय शम्भुलाई २ वर्षका लागि कालो सूचीमा राखिएको हो।
तुलसीपुरस्थित बालन ब्रदर्स कन्स्ट्रक्शन एण्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्शन प्रालि, अनामनगरस्थित ग्रीन टेक प्रोजेक्ट प्रालि, बाँकेको सोनारीस्थित एसएनसी निर्माण सेवा प्रालि र लुम्बिनीको रुपन्देहीस्थित शाह निर्माण सेवा कम्पनीलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।








