गृहपृष्ठ Featured स्याङ्जामा ७६ करोड १२ लाखको सुन्तला उत्पादन

स्याङ्जामा ७६ करोड १२ लाखको सुन्तला उत्पादन

स्याङ्जा : सुन्तला उत्पादनमा प्रतिकुल रहेको स्याङ्जामा यसवर्ष ७६ करोड १२ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। गत वर्षको तुलनामा यसवर्ष ३ करोड २२ लाख ४० हजार कम मूल्य बराबरको उत्पादन भएको हो।

गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा सुन्तला प्रति हेक्टर ५ प्रतिशत कम मेट्रिक टन उत्पादकत्व दर रहेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले जानकारी दिए। उनका अनुसार,‘गत वर्ष प्रति हेक्टर १५ दशमलब २ टन उत्पादकत्व दर थियो भने, यसवर्ष प्रतिहेक्टर १० दशमलब ३ मेट्रिक टन छ।’

जिल्लामा झण्डै २ हजार हेक्टरमा सुन्तला खेती हुन्छ। स्याङ्जाको हावापानी सुन्तला खेतीका लागि उपयुक्त छ। गत वर्षभन्दा यसवर्ष झण्डै ३ सय हेक्टर सुन्तला खेती क्षेत्र विस्तार भएको बताइएको छ। तीमध्ये १ हजार ४ सय हेक्टरमा मात्र सुन्तला उत्पादन लिन सकिन्छ भने बाँकी झण्डै ६ सय हेक्टरमा सुन्तलाले फल दिएका छैनन्।

उत्पादकत्व दर घटे पनि सुन्तलाको बजार र मूल्य उच्च रह्यो। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष प्रति किलो ४५ देखि ७५ रुपैयाँमा बेचेका किसानले यसवर्ष ५० देखि ८० रुपैयाँ प्रति किलोमा सुन्तला बगैचाबाट बिक्री गरेका छन्।

यहाँ उत्पादित सुन्तलामध्ये किसानले २५ प्रतिशत आफैं उपभोग गर्दछन् भने ७५ प्रतिशत सुन्तला बिक्री वितरण गर्छन्। उत्पादित सुन्तलामध्ये ३ हजार ४ सय ६० टन अर्थात १९ करोड ३ लाखका सुन्तला आफैले खान तथा इष्टमित्रका लागि उपहारका लागि दिइन्छ। यहाँ सयौं परिवार सुन्तला व्यवसायमा रमेका छन्। उनीहरुले बर्सेनि सुन्तलाबाटै लाखौं रुपैयाँ आम्दानी गर्छन्।

सम्बन्धित् समाचार