गृहपृष्ठ Featured आहारारा गोल्डकपः ट्रफीमा एपीएफ र मनाङ मर्स्याङ्दीको दाबी

आहारारा गोल्डकपः ट्रफीमा एपीएफ र मनाङ मर्स्याङ्दीको दाबी

दुई विभागीय क्लब आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विमुख छन्। एउटा विभागीय क्लबले इतिहास कोरेको छ। पोखराको मैदानमा सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मीले उपाधि उचाल्ने अवसर नै पाएका छैनन्। पुलिसले आहारारा गोल्डकपमा सुनौलो इतिहास लेखिसकेको छ।

इतिहास कोर्ने अभियानमा यतिबेला सशस्त्र प्रहरी बलको एपीएफ छ। एपीएफ १४ वर्षपछि फाईनल पुगेको छ। १२ वर्षमा खोलो पनि फर्किन्छ भने झैं डेढ दशकको आरोह अवरोधपछि उपाधि उचाल्ने एउटै मात्र लक्ष्य एपीएफको छ। उपाधि उचाल्ने धुनमा रहेको एपीएफलाई रोक्दै उपाधि संख्या बढाउने चाहना भने मनाङ मर्स्याङ्दी क्लबको छ।

मोफसलका नकाउट फुटबल प्रतियोगितामा विभागीय टोलीभन्दा मनाङ मर्स्याङ्दी केही बलियो मानिन्छ। उपाधिको संख्याले त्यसलाई प्रमाणित गरेको छ। यद्यपी एपीएफले विदेशी खेलाडीलाई आफ्नो जर्सीमा उतार्दै पोखराको मैदानबाट उपाधि बोकेर कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा उर्जाशील हुने सोचमा छ। पोखराको घरेलु मैदानमा मनाङले उपाधि रक्षा गर्दै बनाईराखेको शाखलाई जोगाउँदै इतिहासमा एउटा अध्याय थप्ने आत्मविश्वासी देखिएको छ।

१४ वर्षपछि फाईनलमा पुग्नु सशस्त्रको लागि आफैंमा इतिहास हो। फाईनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग हारको इतिहासलाई एपीएफले यो वर्ष दोहोर्याउन चाहँदैन। पुरानो इतिहासलाई सच्याउँदै उपाधि उचालेर नयाँ इतिहास प्रारम्भ गर्ने एपीएफको तयारी छ।

‘कोभिडको बेला सहाराले गरेको तयारी निकै सह्रानीय छ। त्यही अनुरुप हामीले पनि उपाधि उचाल्ने तयारी छौं। सहाराको दुःखलाई हामीले न्याय संगत तरिकाले प्रस्तुत हुने छौं,’ फाईनलको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बलका प्रशिक्षक कुमार थापाले भने, ‘गोल्डकपमा हामीले तीन खेल खेलिसकेका छौं। शुरुवातदेखि हामीले खेलमा सुधार्दै गएका छौं। फाइनलमा अझ सुधार हुन्छौं।’

सहाराले २० औं संस्करणसम्म जसरी ‘सक्सेस’ गरेको छ त्यसरी नै हामी पनि ‘सक्सेस’ हुन्छौं भन्ने उनको अभिव्यक्ति थियो। मनाङ मर्स्याङ्दी क्लब आफैंमा उत्कृष्ट टिम भएको भन्दै हामी पनि कम छैनौं भन्ने सन्देश उपाधि उचालेर दिने उनको भनाई थियो।

सम्बन्धित् समाचार