गृहपृष्ठ Featured नेपाली कांग्रेस बाणगंगाद्धारा बधाई, शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस बाणगंगाद्धारा बधाई, शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाईन : नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिले बधाई, शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा रहेको आफ्नै पार्टी कार्यालयमा नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिले उक्त कार्याक्रम सम्पन्न गरेको हो ।

कार्यक्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलमानले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सरकारले यही जेठ ४ गते स्थानीय तहको निर्वाचन गराउने तयारी गरेको भन्दै उहाँले नेता कार्यकर्ताहरुलाई तयारीमा लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले पार्टीको १४औं महाधिवेशनमा देखिएको आन्तरिक प्रतिस्पर्धालाई भूलेर अब पार्टीलाई एकतावद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । राजनितिमा ईमान्दारिता र नैतिकताको ठूलो महत्व रहेने बताउँदै उहाँले पार्टीभित्र सबैले अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो । कम्युनिष्टले एमसीसीको बारेमा गाउँघरमा जनता समक्ष भ्रम सिर्जना गरेको उहाँको आरोप छ ।

यस्तै कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले अबको चुनावमा कांग्रेसले देशभर गठबन्धन बनाएर जान नहुने बताउनुभएको छ । चुनावमा कही कतै कसैसंग तालमेल गर्न सकिने तर देशभर नै गठबन्धन बनाएर जान नहुने महामन्त्री आचार्यको भनाई छ । अबको स्थानीय निर्वाचनमा सबै एकजुट भएर कांग्रेसका उम्मेद्वारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । बाणगंगा नगरपालिकालाई कम्युनिष्टले आफ्नो पकेट क्षेत्र मान्दै आएको तर विगतको चुनावमा आफुहरुले उनीहरुलाई हराउन सफल भएको उहाँले स्मरण गराउनुभयो । विपक्षीसंग चुनावी मैदानमा उत्रिन जाने समय आएको भन्दै महामन्त्री आचार्यले तयारी अवस्थामा रहन निर्देशन समेत दिनुभएको छ ।

यस्तै नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम खांले आन्तरिक मदभेदहरुलाई भूलेर एकजुट हुदैं अबको चुनाव जित्ने लक्ष्यमा केन्द्रित हुनुपर्ने आवश्यता औंल्याउनुभएको छ । अब आफुहरुको लक्ष्य सरकार बनाउने भएकाले लक्ष्यभन्दा दायाँबायाँ हुन नहुने उहाँको भनाई छ । उहाँले १४औं महाधिवेशनमा निर्वाचित नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्ने आवश्यता रहेको बताउनुभयो । आफुलाई जिल्ला सभापतिमा निर्वाचित गराउन सहयोग गर्नेहरुप्रति उहाँले आभार समेत व्यक्त गर्नुभयो ।

यस्तै कांग्रेस जिल्ला सचिव शक्तिसिंह ठकुरी, कपिलवस्तु क्षेत्र नं.१ का सभापति मनान खाँले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई एकतावद्ध बनाउनु अहिलेको आवश्यता रहेको बताउनुभएको छ । यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारु, महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे, ईन्दिरा भट्टाराई, कांग्रेस नेता टेकबहादुर शाही, ज्ञानु कार्की, रविराज आचार्य, नेविसंघका नेता चन्द्रकान्त पोख्रेलले आआफ्नो धारणा राख्नुभएको छ । साथै सो अवसरमा नगरले हालै निर्वाचित नेपाली कांग्रेसका ११ वटा वडाका वडा सभापतिहरु, प्रदेशका पादधिकारी तथा जिल्ला पदाधिकारीहरुलाई मायाको चिनोसहित सम्मान गरेको छ ।

कार्यक्रम नेपाली कांग्रेस बाणगंगाका नगरअध्यक्ष विष्णु थापाको अध्यक्षता, नगर सचिव गोविन्द आचार्यको संचालन तथा उपसभापति भगवान दास चौधरीको स्वागत मन्तव्यमा सम्पन्न भएको कांग्रेस बाणगंगाका नगरसचिव सुर्यप्रसाद बरालले वैखरी अनलाईनलाई  जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार