काठमाडौं : मधेश प्रदेशका चार जिल्लाका घरघर पुगेर सर्वसाधरणलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेश प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आजबाट सुरु भएको हो।
आड्रा नेपाल र वाग्मती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका करिब ३२ हजारलाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने कार्यक्रमको मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर यादवले उद्घाटन गरेका हुन्।
नेपाल सरकारले आगामी चैतसम्ममा लक्षित समूहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएअनुसार स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा यी चार जिल्लाका घरघरमै पुगेर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न लागिएको उनले बताए।
चार जिल्लामा चारवटा मोबाइल गाडीको व्यवस्था गरी घुम्ती खोप सेवा संचालन हुनेछ।