काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाँदैछन् । दिउँसो ४ बजे प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार जान लागेका हुन् ।
एमालेको समर्थनमा एमसीसी पारित गर्न लागेको आरोप खेपिहरेका प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार जानुलाई महत्वका साथ हेरिएको छ ।
देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जान लागेका हुन् । यसअघि गत पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए ।
अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाइँले समसायिक विषयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता हुन लागेको बताएका छन् ।
प्रधानमन्त्री देउवाका साथमा ओलीले भेटवार्ता गर्दै गर्दा सो भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने स्रोतको भनाइ छ ।
विशेषगरी एमसीसीका विषयमा छलफल गर्नका लागि पछिल्लो समय प्रधानमन्त्री देउवाले ओलीलाई भेट्न चाहेका थिए ।








