गृहपृष्ठ Featured सहयोग गर्ने देश सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : प्रवक्ता महत

सहयोग गर्ने देश सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन्। शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाईजस्तै हेनुपर्ने बताए।

अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ। उनले भने, “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ।” एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उनको तर्क छ। उनले थपे, “एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ। नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो।”

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताए। उनले भने, “सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेस गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन।” संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उनको भनाइ छ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताए। उनले भने, “गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ।” दलहरूले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेर मात्रै गठबन्धनका विषयमा टुंगो लाग्ने उनले जानकारी दिए। फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उनको भनाइ थियो। -रासस

सम्बन्धित् समाचार