नारद कोहार(कपिलबस्तु) : कपिलबस्तुमा मतदाताको संख्या ३ लाख ८७ हजार चार सय ७२ पुगेको छ । जिल्लामा गत प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७४ मा ३ लाख ११ हजार सात सय ६० मतदाता रहेका थिए । मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय कपिलबस्तु जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताउनुभयो । गत मङ्सिर १७ देखि पुस १९ मा सकिएको मतदाता दर्ता विशेष कार्यक्रममा १० स्थानीय तहबाट १५ हजार ४ सय ९१ ले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा माघ २४ गते सम्म २ लाख ८ हजार २ सय ८० पुरुष, १ लाख ७९ हजार १ सय ९० महिला र २ जना तेस्रो लिंगी गरि ३ लाख ८७ हजार ४ सय ७२ मतदाता संख्या रहेको कार्यालयले जनाएको हो । मतदाता नामावली संकलनबाट संकलित मतदाताको संख्या मात्र अहिले निकालिएको र ती मतदातालाई अद्यावधिक गर्न बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख पन्थिले बताउनुभयो । १६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था छ ।
मताधिकार प्रयोग गर्न १८ वर्ष पुग्नु पर्ने हुन्छ । मतदाता संख्या बढे संगै जिल्लामा मतदान केन्द्र पनि बढ्ने भएको छ । २०७४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा २ सय ३३ वटा मतदान केन्द्र रहेकोमा त्यसपछि २ वटा थप गरीए संगै २ सय ३५ मतदान केन्द्र पुगेको छ ।
बाहिरी जिल्लाबाट यस जिल्लामा १ सय ४३ जनाले मतदान गर्न पाउने गरी निवेदन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी पन्थीले बताउनुभयो ।
सरकारले स्थानीय तह निर्वाचनको मिति तोके सँगै निर्वाचन आयोगले मंगलवारबाट मतदाता नामावली संकलन स्थगित गरेको छ ।