सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगा नगरपालिका वडा नं.४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले वडाको विकासका लागी आफु सधै तत्पर रहेको बताउनुभएको छ । वडा नं.४ को आयोजना तथा वैखरी मिडिया प्रा.लि.को प्रविधिक सहयोगमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘ म वडाको विकासका लागी सधै तत्पर छु, आफ्नो तर्फबाट वडालाई कसरी समृद्ध बनाउने भन्नेमा नै मेरो ध्यान केन्द्रित छ ।’
भौतिक विकासले मात्र वडा समृद्ध नहुने भन्दै वडाध्यक्ष क्षेत्रीले भौतिक विकाससंगै स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, खेलकुद, पर्यटन, कृषिसहित अन्य विकासका पूर्वाधारको विकासमा वडाले उल्लेख्यनीय काम गरेको दाबी गर्नुभयो । वडाध्यक्ष क्षेत्रीले सडक कालोपत्रे, ग्राभल, सिचाईका लागी कुलो नाला विस्तार, खेलकुदका लागी २ वटा कर्भड हलको निर्माण, ५ वडा पार्क निर्माण, एउटा पुर्नस्थापन केन्द्र निर्माण, विद्युत तार, पोलको विस्तारमा उल्लेख्य काम गरेको जानकारी गराउनुभएको छ । वडाको विकासका लागी आफु सधै तत्पर रहेको वडाध्यक्ष क्षेत्रीले जिकीर गर्नुभएको छ ।
आफु वडावासीको सेवाका लागी चौविसैं घण्टा तत्पर रहेर काम समेत गरेको स्मरण गर्दै वडाध्यक्ष क्षेत्रीले बाणगंगा नगरपालिकाभित्रका ११ वटा वडामध्ये वडा नं ४ पनि एक विकास र समृद्धिका हिसाबले अग्र स्थानमा रहेको बताउनुभयो । कार्यक्रममा वडावासीका तर्फबाट विद्युत आपुर्ति सम्बन्धि समस्या, टोल विकास समितिमा विकास निर्माणका कार्यक्रम छनोट गर्दा सबैको उल्लेख्य सहभागिता नभएको, गजेहडा प्रहरी विटका लागी भवनको व्यवस्थापन तथा सिसिटिभिको मर्मत तथा थप उपलब्ध गराउनुपर्ने, बालबालिका लागी उपलब्ध खेलकुद सामग्रीमा बालबालिकाको पहुँच हुन नसकेको, लागुऔषध नियन्त्रण तथा न्युनिकरण लागी थप पहल आवश्यक लगायतका सल्लाह तथा सुझावहरु आएका थिए ।
उक्त विषयहरुलाई सम्बोधन गर्दै वडाध्यक्ष क्षेत्रीले विद्युत आपुर्ति सम्बन्धि समस्याका लागी वडाले पहल गरिरहेको बताउँदै विद्युत प्राधिकरण शाखा चारनम्बरसंगै अन्य सम्बन्धित पक्षसंग समवन्य भईरहेको बताउनुभयो । विकास निर्माणका कार्यक्रम छनोट गर्दा टोल विकास समितिमा सबैको उल्लेख्य सहभागिताका लागी थप पहल गरिने वडाध्यक्ष क्षेत्रीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
गजेहडा प्रहरी विटका लागी भवनको व्यवस्थापनका लागी जग्गाको खोजी कार्य भईरहको बताउँदै उहाँले सिसिटिभिको मर्मत तथा थप उपलब्ध गराउनुपर्ने विषयमा वडा प्रतिवद्ध रहेको बताउनुभयो । लक्षित वर्गका तालिमहरु संचालन गर्दा वडाले उक्त क्षेत्रमा लागेकालाई प्राथमिकता दिएको बताउँदै वडाध्यक्ष क्षेत्रीले यसबाट २५ जना बढीले आफ्नो व्यवसाय संचालन गरिरहेको जिकीर गर्नुभयो । बालबालिका लागी उपलब्ध खेलकुद सामग्रीमा बालबालिकाको पहुँच हुन नसकेको विषयमा टोल विकास समितिका प्रमुखहरुसंग छलफल गरि समाधान गरिने उहाँको भनाई छ ।
लागुऔषध नियन्त्रण तथा न्युनिकरणका लागी वडा सधै प्रतिवद्ध रहेको बताउँदै वडाध्यक्ष क्षेत्रीले थप सचेतनाका कार्यक्रमहरु गरिने बताउनुभयो । यस्तै उहाँले यस्ता समस्यालाई आफुले गम्भिर रुपमा लिएको र समाधान गर्ने प्रयास जारी रहेको भन्दै निकट भविष्यमा नै समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।







