गृहपृष्ठ Featured असिनापानीले पोखरामा ११ करोड मूल्यबराबरको क्षति

असिनापानीले पोखरामा ११ करोड मूल्यबराबरको क्षति

पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँबराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ। बाक्लो असिनापानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरू नष्ट भएका छन्।

कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए। असिनाका कारण सो वडाहरूमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलुलगायतका बालीमा पूर्ण क्षति पुगेको उनले जानकारी दिए। उनका अनुसार असिनापानी परेको दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन। कडरियाले राज्यले कृषकलाई दिएको बिमा सुविधासमेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्न सक्ने बताए।

असिनाकै कारण पोखरा– ११ मा फलमान गुरुङको उदय अर्गानिक कृषि फार्मका दुईवटा भैँसी मरेका छन्। असिनाको भारले गर्दा फार्मको टिन भाँचिएर थिचेका कारण भैँसी मरेका हुन्। त्यस्तै तरकारीका टनेलहरू भत्किएका छन्। गुरुङका अनुसार फर्ममा २० लाख मूल्यबराबरको क्षति भएको छ।

उता, पोखरा– ११ कै केहरमान गुरुङको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ। उनले चार रोपनी क्षेत्रफलमा लगाएका विभिन्न जातका फूलमा टनेलसहित क्षति हुँदा २० लाखबराबरको नोक्सान भएको बताए। पोखरा– ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा– ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए।

सम्बन्धित् समाचार