प्रतिपक्षी एमालेले माग पूरा नभएसम्म कुनै पनि संसदीय प्रक्रियामा प्रवेश नगर्ने स्पष्ट पारेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार साँझ भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले ६ महिनादेखि उठाएका माग स्मरण गराउँदै ती माग पूरा नभएसम्म कुनै पनि संसदीय प्रक्रियामा प्रवेश नगर्ने बताएका हुन् ।
भेटवार्ताको क्रममा देउवाले सत्तारुढ दलहरुभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसिसी पास गर्न सघाउन आग्रह गरेका थिए । देउवाले ओली प्रधानमन्त्री भएकै बेला संसदमा दर्ता भएको एमसिसी अनुमोदनमा सहयोग गर्नु एमालेको दायित्व भएको बताएका थिए ।
भेटवार्ताका लागि ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल बालुवाटार गएका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि भेटवार्तामा सहभागी थिए ।
‘एमसिसी संसदमा टेबुल गरेकै दिन भेट गर्ने भन्ने थियो । सडक आन्दोलनका कारण त्यो दिन भेट हुन नसकेपछि आज छलफल भएको हो । प्रधानमन्त्रीले एमसिसी अनुमोदन गराउन सघाउन आग्रह गर्नुभयो । हामीले हाम्रा माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश नगर्ने स्पष्ट रुपमा भनेका छौँ ।’ रिमालले भने ।
एमालेले पार्टीले निष्काशन गरेका १४ सांसदलाई कारबाही हुनुपर्ने माग गर्दै संसद बैठकमा निरन्तर नाराबाजी गर्दै आइरहेको छ । एमालेले सभामुख अग्नि सापकोटाको राजीनामा समेत मागेको छ ।
सत्तारुढ दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसीको विपक्षमा उभिने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले ओलीसँग छलफल गरेका हुन् । यसअघि देउवा ओलीनिवास बालकोट पुगेर छलफल गरेका थिए । देउवाले एमसिसी अनुमोदन गर्ने गरी रणनीतिक छलफल गरिरहेका छन् ।