नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत श्रकर पौडेलले धानको पकेट क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारीमा चैते धान रोपाइँ सुरु भएको बताए ।
धान पकेट क्षेत्र लागू गरिएको पुरानो स्थानमा प्रति पकेट २४ लाखसम्म तथा नयाँ क्षेत्रमा १२ लाखसम्म अनुदान दिइने गरेको बागबानी विकास अधिकृत पौडेलले बताए । केन्द्रले चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको उनको भनाइ छ ।
पकेट क्षेत्र लागू भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, मल, बीउ, यान्त्रिकीकरण लगायतमा अनुदान दिने गरेको अधिकृत पौडेलले बताए ।








