सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ। बिहीबार यसको मूल्य प्रतितोला ९८ हजार पाँच सय रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय १४ डलर आसपास कारोबार भइरहेको छ।








