काठमाडौं : नेपका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको प्रचण्डको भनाई छ ।
पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएका हुन् ।
प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘गठबन्धन बनाउँदा एमसीसीलाई सर्तको रुपमा राखेको होइन । साझा नीति कार्यक्रममा पनि एमसीसीमा राखिएको होइन । समय बित्दै जाँदा गठबन्धनभित्र एमसीसीको विषयले प्राथमिकता प्राप्त गर्दै गयो । त्यसमा मतमतान्तर भएपनि निकास दिइयो । अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करिब निश्चित भयो ।’