काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ बर्ष देखिको कुटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताए । उनले कोभिड–१९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तर्गत खोप सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद दिए ।
सभामुख सापकोटाले नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार व्यक्त गर्दै कोभिड पछिको आर्थिक पुनरुत्थानमा सहयोग रहने विश्वास व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गरे । उनले नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देशबीचको साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।